अमेरिकाको राष्ट्रिय सरुवा रोग नियन्त्रण कार्यालयका निर्देशक डाक्टर एन्थोनी फाउसीले रुसले दावी गरेको कोरोना भ्याक्सिनमा आफूलाई शंका रहेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकदिन अगाडि कोरोना भ्याक्सिनको घोषणा गरेको भोलिपल्ट डाक्टर फाउसीले यस्तो आशंका व्यक्त गरेका हुन्। पुटिनले मंगलबार रुसले कोरोनाको भ्याक्सिन निर्माण गरेको आधिकारीक घोषणा गरेका थिए। उनले रुसले निर्माण गरेको भ्याक्सिन सुरक्षित तथा भरपर्दो भएको दावी गरिरहेको बेला फाउसीले भने, ‘मलाई विश्वास छ, रुसले निश्चित रूपमा भ्याक्सिनको प्रभावकारिता तथा सुरक्षा प्रमाणित गर्नेछ। अहिले भन्नु पर्दा मलाई एकदमै शंका छ, उनीहरूले भ्याक्सिन बनाए भन्ने कुरामा।’
फाउसीले नेशनल ज्योग्राफीको एउटा कार्यक्रममा भर्चुअल अन्तर्वार्ता दिने क्रममा यी सबै कुरा बताएका हुन्। उनको ‘प्यानल’ संवाद बिहीबार सार्वजनिक हुँदैछ।
रुसको स्वास्थ्य मन्त्रालयले दुई महिनाको छोटो परीक्षणको अवधिमै भ्याक्सिनलाई मान्यता दिएको हो।
सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा २ करोड बढी व्यक्ति संक्रमित भइसकेका छन्। जसमा ७ लाख ३७ हजार भन्दा बढीको निधन भइसकेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देश अमेरिका नै हो। यहाँ ५० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ६३ हजार मानिसको निधन भइसकेको छ।
रुसी राष्ट्रपति पुटिनले मंगलबार टेलिभिजनमार्फत भ्याक्सिन दर्ता भएको र यसको पहिलो परीक्षण आफ्नो छोरीबाट गरेको बताएका थिए।
रुसले जारी गरेको भ्याक्सिन अक्टुबरको सुरुवातमा विश्व बजारमा आउने दावी गरेको छ। यसअघि रुसमै बुद्धबृद्धा तथा स्वास्थ्यकर्मीमा भ्याक्सिनको पहिलो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
फाउसीले अमेरिका पनि कोरोनाको भ्याक्सिन बनाउने अभियानमा सक्रियताका साथ लागिरहेको बताए। उनले चीन वा रुस कसैले भ्याक्सिन निकाले पनि अमेरिकाले आफ्नै हिसाबले काम गरिरहेको दावी गरे। उनले अमेरिकामा बन्ने भ्याक्सिनको विश्वसनीयता बलियो भएको र सुरक्षामा विशेष ध्यान दिइएको बताए।