टुँडिखेलमा आज ७५औं प्रजातन्त्र दिवस मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो।
उक्त कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल पनि देखाइएको थियो
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताएका छन्।
बुधबार प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन्।
त्यसैगरी प्रधानमन्त्रीले आजको दिन नेपाली जनताको प्रजातान्त्रिक हकअधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर–वीरङ्गनाहरूको स्मरण गर्ने दिन पनि रहेको बताएका थिए।
000
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री फेला परेको छ।
विमानस्थल अध्यागमनको महिला शौचालयमा १ सय २५ ग्रामका २ वटा सुनका सिक्री फेला परेकाे हाे।
सुन कसले छोडेको हो भन्ने खुलेको छैन। सुन मालिक पत्ता नलागे राष्ट्र बैंकमा जफत हुने र सो रकम राजश्वको खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ।
स्रोतका अनुसार उक्त सुन तस्करीको हुन सक्ने आशंका छ।
000
भारतको ओडिसा प्रदेश सरकारले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा मनोविमर्श संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएको छ।
सरकारले आइतबार मृत भेटिएकी कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की विद्यार्थी लम्सालको नाममा संस्था स्थापना गर्न लागेको हो।
बिहीबार नेपाली राजदूतावास दिल्लीका प्रहरी कन्सुलर एसएसपी संजीव शर्मा दाससहितको टोलीसँग भएको छलफलमा उडिसा सरकारका स्वाास्थ्य मन्त्री मुकेश महालिङले उनको नाममा संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन्।
0000
नेपाली विद्यार्थी प्रकृती लम्सालको आत्महत्या र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा पक्राउ परेका केआईआईटी विश्वविद्यालयका पाँच जना कर्मचारी धरौटीमा रिहा भएका छन्।
२० हजार रुपैयाँ धरौटीमा रिहा हुनेहरूमा तीनजना निर्देशक छन् भने दुई जना सुरक्षा गार्ड छन्।
विश्वविद्यालय डीजी-एचआर शिबानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चम्पती, छात्रावास निर्देशक सुधीरकुमार रथ, दुई सुरक्षा गार्डहरू रमाकान्त नायक र योगेन्द्र बेहरा धरौटीमा रिहा भएका हुन्।
नेपालीका साथै भारतीयहरूको समेत चर्को विरोध सुरु भएपछि प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो।
000
भारतको केआईआईटीमा भएको तनावपछि कम्तीमा १ सय ११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन्।
पूर्वीनाका काँकडभिट्टा र वीरगञ्ज नाकाबाट नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ।
विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ।
दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।
000
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी दिनमा संसद्मा सत्ता पक्ष र प्रतिपक्षबिच चर्को विवाद हुने बताएका छन्।
फागुन ६ गते बसेको स्थायी कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारले पेस गरेका ६ वटै अध्यादेशका विरुद्ध आफ्नो पार्टीले संसदीय इतिहासमै पहिलो पटक अस्वीकारको सूचना दर्ता गराएको पनि बताएका हुन्।
अध्यक्ष नेपालको उक्त प्रतिवेदन पोलिटब्युरो बैठकबाट समेत पारित गरेर फागुन ८ र ९ गते बस्ने पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पेस हुँदैछ।
000
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन्।
उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा बिहिबार भारत जान लागेका हुन्।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन्।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ।
000
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन्।
पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षमा भएकाे कामकाे विवरण बाेकेर चुनावमा जानुपर्ने बताएका हुन्।
रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा कांग्रेसलाई मत नहाल्नेहरूलाइ समेत गल्तीकाे महसुस हुने उनकाे जिकिर थियाे।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन्।
उनले अनेक शिर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका हुन्।
२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर रोकिएको छ।
पत्रकारहरू समक्ष बोल्ने क्रममा ट्रम्पले भनेका थिए, ‘यो फ्रड हो।’