यो स्टोरी यही साउन १० गते कान्तिपुर 'कोसेली' मा प्रकाशित तीर्थबहादुर श्रेष्ठको 'काठमाडौंका रैथाने' शीर्षक लेखको दोस्रो भाग हो। वा, यसलाई त्यसैको 'एडप्टेसन' का रूपमा लिए पनि हुन्छ।
वनस्पतिविद् श्रेष्ठले आफ्नो लेखमा प्रसिद्ध अंग्रेजी लेखक रड्यार्ड किप्लिङको 'नियोलिथिक एज' कविताको एउटा पंक्ति उद्धृत गर्दै काठमाडौं उपत्यकाका रैथाने वन, वृक्ष र वनस्पतिबारे चर्चा गरेका छन्।
किप्लिङ बेलायती उपनिवेश बेला भारतमा जन्मेका र यतैको भूगोलबाट प्रभावित लेखक हुन्। उनका 'जंगल बुक' र 'किम' जस्ता किताब चर्चित छन्। मैले उनलाई चिनेको यिनै दुई किताबबाट हो।
उनले आजभन्दा झन्डै १२८ वर्षअघि सन् १८९३ मा लेखेको उक्त कविताले नवप्रस्तर युगबाट आधुनिक युगसम्म आइपुग्दा संसारभरि देखिएका आशालाग्दा परिवर्तनहरूको वर्णन गर्छ। त्यही क्रममा काठमाडौं उपत्यकाको जैविक विशेषतालाई बेलायतको क्यूस्थित शाही वनस्पति उद्यानसँग दाँज्दै उनले भनेका छन्, 'क्यूको अतिरञ्जित सपना काठमाडौंको वास्तविक यथार्थ हो।'
हुनलाई यो जम्मा एक पंक्तिको वर्णन हो। तर, जसरी एक अञ्जुली पानीमा सिंगो सूर्यको प्रतिबिम्ब अटाउँछ, त्यस्तै यो एक पंक्तिमा काठमाडौंको विशाल जैविक विविधताको झलक छ।
यही पंक्ति उद्धृत गर्दै श्रेष्ठले कोसेलीमा लेखेका छन्, 'अनुपम विश्वको वानस्पतिक वैभव समेट्ने सपना बोकेको बेलायतको राजकीय वनस्पति उद्यान 'क्यू' को अतिरञ्जित सपना (वाइल्डेस्ट ड्रिम) काठमाडौंको वास्तविक यथार्थ (फ्याक्ट्स अफ काठमाडौं) हो भन्ने उद्गारले यस उपत्यकाको मौलिक विशेषता उजागर गर्छ।'
म यो कुरा अहिले यस कारण सान्दर्भिक देख्छु, किनकि हामी टुँडिखेलसहित सहरका विभिन्न भागमा खुला सार्वजनिक पार्कको परिकल्पना गर्दैछौं। त्यस्ता सार्वजनिक पार्क होस् वा रिङरोड लगायत सडक छेउछाउ नयाँ वृक्ष वा वनस्पति लगाउने योजना नै किन नहोस्, वनस्पतिको छनौट महत्वपूर्ण हुन्छ। हराभरा सहरको परिकल्पनामा सम्भव भएसम्म हामीले आफ्नै रैथाने वृक्ष वा वनस्पति नै किन नलगाउने?