उपत्यकाभित्र कोरोना संक्रमित थपिएपछि तीनवटै सिडिओको संयुक्त बैठक

पछिल्लो समय तिब्र रूपमा फैलिएको कोरोना संक्रमणले उपत्यकामा थप जोखिम बढेको छ। काठमाडौं उपत्यकामा बिहीबार मात्रै सर्वाधिक ८७ जना संक्रमित थपिएका थिए।

काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। काठमाडौंसँगै सोही दिन भक्तपुर १ र ललितपुरमा १० जना थपिए। पछिल्ला केही दिन यता उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएको छ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं,  १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्।

उपत्यकाभित्र संक्रमितको सङ्ख्या बढेपछि के गर्ने भन्ने विषयमा सबै जना सोच्न बाध्य भएका छन्। शुक्रवार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बैठक बोलाएका छन्। बैठकमा उपत्यकाभित्र बढ्दै गएको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

उपत्यका भित्रिने नाकाबाट सबैभन्दा धेरै जोखिम देखिएको भन्दै यसलाई कसरी व्यवस्थित गर्ने र थप कहाँ कहाँ सिल गर्ने वा के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ।

भक्तपुरको नाका साँगा भञ्ज्याङ र काठमाडौंको नाका नागढुंगाबाट आउने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएको छ। 

गृह मन्त्रालयले बुधवार सूचना जारी गर्दै २ सय भन्दा बढी एक्टिभ केस भएको जिल्लामा जोरबिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी संचालन गर्न निर्देशन दिइसकिएको छ। काठमाडौं उपत्यकाभित्र बिहिवारदेखि जोरोबिजोर अनुसार सवारी संचालनमा छन्।

यसैबिच काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जोर विजोर प्रणालीमा अटेर गरेर स्थिति भयाभह आउने स्थिति आए कर्फ्यूसमेत लगाइने बताएका छन्।

उनले निषेधाज्ञा, कफ्र्यु वा दंगाग्रस्त क्षेत्र परिस्थिति नियन्त्रणबाहिर जाने स्थिति भएको भन्दै उनले आवश्यक देखिए र जोरबिजोर पालनामा पनि अटेर गरियो भने निषेधाज्ञामै जान सक्ने बताएका हुन्।

 

प्रकाशित मिति: : 2020-08-07 09:01:13

प्रतिकृया दिनुहोस्