काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई उद्धार गरिएकाे छ।
राष्ट्रिय बालअधिकार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधबार बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ। यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन्।
यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो।
केयर बालगृहकी सञ्चालिका अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन्।
तर महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ। खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन्।
उनले शिशुलाई आफूसँग राख्न सकिनन् नसकेपछि केयर बालगृहको जिम्मा लगाएकी थिइन्।
जब शिशु बेवारिसे होइन भन्ने खुलेसँगै बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन्। उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ।
घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए।