चितवनमा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढापका २७ वर्षीय योगेश वाइवा र वडा नम्बर २ पदमपुरका २८ वर्षीय सुरज गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ। 

विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए।

उनीहरुको साथबाट ना १३ प ८५३८ नम्बरको होन्डा मोटरसाइकल (वास्तविक ना ४१ प ९६०१), ना ४१ प ९६०१ (वास्तविक प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ (वास्तविक स १० प १११८) नम्बरको मोटरसाइकल बरामद भएको उनले बताए।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2020-08-04 13:29:50

प्रतिकृया दिनुहोस्