मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच स्थगित भएको छ।
सरकारले चैतदेखि गरेको लकडाउन खोलेता पनि कोभिड–१९ को जोखिम कायमै रहेका कारण नाच स्थगित भएको हो।
परम्पराअनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरीे नाच देखाउँदै आएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिए।
अघिल्लो वर्ष कुन्छालले तयार पारेको नाच यस वर्ष कुलगाउँको जिम्मेवारीमा परेको थियो।
दुईमध्ये एउटा गाउँमा तयार पारिएको नाच पहिले आफ्नो गाउँमा देखाएर जनैपूर्णिमाकै दिन अर्को गाउँमा लैजाने चलन रही आएको उनले बताए।
‘नाचमा परम्परागत कृषि कर्मअन्तर्गत धान रोपाइँका विभिन्न भूमिकालाई नाच र अभिनयमार्फत प्रदर्शन गर्ने गरिन्छ’ उनले भने।