अर्जुनधारा पाँच दिनका लागि लकडाउन

अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागी नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ। 

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो। 

नगरप्रमुख हरि रानाका अनुसार केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेकोहो।

सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भन्ने उदेश्यका साथ लकडाउन गरेको उनले बताए।

‘लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ’ उनले भने, ‘सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन्। तर कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।’

उनका अनुसार मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैन्। 

सङ्घसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ।

 नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताए। 

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ। 

प्रकाशित मिति: : 2020-08-02 12:19:36

प्रतिकृया दिनुहोस्