रक्सी नपाएपछि ह्याण्ड सेनिटाइजर पिउँदा १० जनाको ज्यान गयाे

भारतको आन्ध्र प्रदेशमा रक्सी नपाएपछि ह्याण्ड सेनिटाइजर पिउँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा कोरोना भाइरसका संक्रमितहरु बढेपछि लगाइएकाे लकडाउनका बेला रक्सी पसल बन्द रहेका छन्।

पसल बन्द भएसँगै लत लागेका व्यक्तिले रक्सीमा पाइने ७० प्रतिशत अल्काेहल सेनिटाइजरमा पाउने भन्दै पानीमा मिसाएर पिएका थिए।

त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार उनीहरुले झण्डै १० दिनसम्म सेनिटाइजर पिएका थिए।

सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो/थिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ।

भारत सरकारले कोरोना संक्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ।

दैनिकजसो ५० हजारको संख्यामा नयाँ काेराेना संक्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। तर केन्द्र सरकारले लकडाउन खुलाएको भएपनि केही स्थानीय तहले लकडाउन कायम राखेका छन्।

प्रकाशित मिति: : 2020-08-01 08:20:29

प्रतिकृया दिनुहोस्