मोरङमा सादा पोशाकमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको छ।
बिहीबार राती बूढीगंगा गाउँपालिका १ मा खोरैयाका स्थानीयहरुलर् सादा पोशाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
घटनामा संलग्न रहेका ३६ वर्षीय बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई थप प्रहरी परिचालन गरेर नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
प्रहरी उपरीक्षक खड्काका अनुसार खोरैयामा लागुपदार्थ ओसारपोसारका लागि तयारी भइरहेको सूचनासँगै प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा राती प्रहरीको टोली पुगेको थियो।
‘लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना आएपछि नियन्त्रणमा लिन टोली गएको थियो। तर टोलीलाई देख्ने बितिकै गाउँले घेरा हालेर लाट्ठी, भाला र खुकरी लिएर आक्रमण गरे,’ उनले भने।
यसक्रममा घटना नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर खोल्नु परेको प्रहरी उपरीक्षक खड्काको भनाइ छ।
‘आक्रमण गर्दैगर्दा केही व्यक्तिले प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गर्नु पर्यो,’ प्रहरी उपरीक्षक खड्काले भने।
घटनामा प्रहरी जवान जीवन काफ्ले, ज्ञानबहादुर बस्नेत, र श्रवण चौधरी घाइते भएका छन्। घाइतेलाई रातीनै विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएका उनले प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको बताए।
उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधको अवैध कारोबार गर्ने व्यापारीले गाउँलेलाई उकासेको देखिएको छ
‘ घटनाको प्रकृति हेर्दा स्थानियले त्यसै आक्रमण गरेको देखिएन। टोलीमाथि आक्रमण गर्न लगाएको पाइएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने।
उनीहरुमाथि कारबाही अघि बढाउन थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।