विराटनगरमा डिभाइडरमा ठोक्किँदा बस दुर्घटना: एकको मृत्यु, दुई गम्भिर घाइते

विराटनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिकामाकाे टंकीसिनवारीमा भएको दुर्घटनामा ४ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार विराटनगरबाट धरान जाँदै गरेको सिमरन यातायातकाे को १ ख ६९५२ नम्बरको  अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा पहिचान नखुलेका करिब ३० वर्षीय पुरुषको विराट टिचिङमा उपचारका क्रममा मृत्यु भएको छ। 

दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता राईले बताए। 

उनी बसका चालक हुनसक्ने आशंका गरिएकाे छ। घटनापछि चालक सम्पर्कमा नआएले मृतक बस चालक नै हाे कि भन्ने शंका गरिएकाे प्रवक्ता राईले बताए।

यता घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। परिचय नखुलेकी करिब ४५ वर्षीया महिलाको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रवक्ता राईले बताए।

दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनाको भने परिचय खुलेको छ। 

घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीय मुना राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको प्रवक्ता राईको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-07-31 06:18:04

प्रतिकृया दिनुहोस्