कुवेतले कोरोना भाइरसको संक्रमणपछि लागू गरेको यात्रा प्रतिबन्ध अगस्ट १ देखि अन्त्य गर्दैछ। तर नेपाल सहित सातवटा देशका नागरिकाहरुलाई भने कुवेत सरकारले प्रवेश नदिने भएको छ।
कुवेत सरकारले लगाएको ‘कोरोना भाइरस ट्राभल ब्यान’ नेपालसहित भारत, फिलिपिन्स,श्रीलंका,पाकिस्तान,इरान र बंगलादेशका नागरिकहरुमा भने कायम नै रहने अरब न्यूजले जनाएको छ।
कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले ट्वीट गर्दै सात राष्ट्रबाहेकका नागरिकहरुलाई आवतजावतमा छुट रहने जनाएको हो।
कोरोना संक्रमण रोक्न भन्दै कुवेतले मार्चको पहिलो साताबाट अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो। अगस्टदेखि भने सिमित संख्यामा हवाई उडानहरु सुरु गर्ने तयारी कुवेत सरकारले गरेको छ।
कुवेतमा हालसम्म ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। कोभिड १९ को संक्रमणबाट कुवेतमा ४४४ जनाको मृत्यु भइसकेको छ।