चार महिना लामो लकडाउन खुलेसँगै पर्यटन क्षेत्रको भावी योजना के हुने अनिश्चयकाबीच सेफहरुले शुक्रबार नेपाली मौलिक खाना प्रदर्शन गरेका छन् ।
लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफहरुले मौलिक खानाका नयाँ स्वाद पस्कदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएका हुन् ।
ललितपुरको सातदोबाटोस्थित आईएचएम कलेजमा भएको नेपाली मौलिक खानाको प्रवर्द्धन कार्यक्रममा करिब ३० जना सेफहरुले देशका ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातीका १३ ओटा रैथाने खानालाई तयारी गरि आकर्षक प्लेटिग गरेका थिए ।
सेफहरुले प्रदेश एक बाट राजबंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै प्रदेश ४ बाट आलंखु र काटुङ्ग , प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोडोको ढिडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व रहने गरि रोटा र चटनीलाई प्लेटिङ्ग गरेका थिए ।
लकडाउनका कारण ग्रामिण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफहरुले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रवर्द्धन हुने सम्बद्ध प्रक्षले विश्वास लिएको छ ।
आईएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पिटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा नेपाल सरकार , तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक राम प्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकहरुलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफहरुले व्यवसाय प्रवर्द्धनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षित गरे।
कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद सिटिमइभिटिका पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए ।
विज्ञहरुसँग अहीले राय सल्लाह लिने , अध्ययन, छलफल गर्ने र आवश्यक सहजिकरणको कार्यलाई सिटिइभिटिले प्राथामिकताका साथ अघि बढाइरहेको उनले बताए। त्यस्तै होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशब बडालले मौलिक खानाको प्रवर्द्धनले मात्रै होमस्टे व्यवसायलाई अहिलेको अवस्थामा उठाउन मद्धत पुग्ने बताए ।
आइएचएम कलेजका फाउन्डर सुराच प्रसाईले नेपाली मौलिक खानाको प्रवर्द्धन राष्ट्रियतासँग पनि जोडिएकाले यसतर्फ राज्यको ध्यान जान सके ग्रामीण पर्यटनको विकास र विस्तार तथा अन्तराष्टिय स्तरमै नेपाली खाना सस्कृति र पहिचानलाई स्थापित गर्न सकिने बताए ।
ग्लोबल नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले कोभिडले सबैपक्षको हातेपालो र सहकार्यले मात्रै धर्मराएको ग्रामिण पर्यटन माथि उठ्ने बताए।