गोरखामा पहिरोले थुनिएको नौली खोला बग्न थाल्यो

पहिरोले थुनिएको गोरखाको धार्चे गाउँपालिका ७ स्थित नौली खोला खुलेकाे छ।

गएरातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौली खोला थुनिएर ताल बनेको थियाे।

स्थानीय बासिन्दा सुशील गुरूङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो। ‘भीरबाट खसेको ठूलो ढुंगासहितको पहिरोले गएराती करिब ११ बजे पहिरो जाँदा नौली खोला थुनिएको थियो,’ उनले भने, ‘केहीबेर अघिबाट मात्र बग्न थालेको होे।’ मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए।

ताल एकैपटक फुटेकाे भए लापुवेशीको बान्द्राङ, नौली खोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ५० घरलाई जोखिममा पार्ने थियाे।

यसैलाई मध्यनजर गर्दै नयाँ वस्ती र नौली खोला झरना आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको थियाे।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पठाइएको गोरखा प्रशासनले जनाएको छ। नौली खोला बाटो भएर बटुवालाई हिड्न रोकिएको छ। 

नौली खोला बूढीगण्डकी नदीको सहायक खोला हो।

प्रकाशित मिति: : 2020-07-25 12:48:56

प्रतिकृया दिनुहोस्