भारतको उत्तर प्रदेशको कानपुर शहरमा ल्याब असिस्टेन्टको काम गर्ने सञ्जीत यादवको अपहरण तथा हत्या मामिलामा प्रहरीले ३० लाख फिरौती रकम खाएको आरोप बहिनीले लगाएकी छिन्।
प्रहरीले दाजुलाई छुटाउन अपहरणकारीले माग गरेको रकम दिन सुझाव दिएको तर त्यो रकम अपहरणकारीसम्म नपुगेको र आफ्नो दाजुको हत्या भएको बहिनीले बताइन्।
‘अपहरणकारीले पैसा पाएको छैनौ भनिरहेका छन्,’ सञ्जीत यादवकी बहिनीले भनिन्।
सञ्जीत यादवको अपहरणपछि फिरौतीका लागि अपहरणकारीले ३० लाख रुपैयाँ माग गरेका थिए। अपहरणको जानकारी यादव परिवारले प्रहरीलाई दिएको थियो। र, प्रहरीकै सुझावमा ३० लाख रुपैयाँ खोजेर परिवारले प्रहरीलाई बुझाएको थियो।
सञ्जीतकी बहिनीले बर्रा पुलिस चौकीका इन्चार्ज रणजीत रायलाई पुरै घटनाको विषयमा जानकारी दिएको बताइन्। रायकै सुझाव अनुसार आफू साउथ म्याडम कहाँ गएको र उनले पैसाको व्यवस्था गर्न सुझाव दिएको बताइन्।
उनले यो घटनामा प्रहरीबाट ठूलो लापरवाही भएको आरोप लगाइन्। यो मुद्धामा ४ प्रहरी निलम्बनमा परेका छन्। तर, यतिले मात्र नपुग्ने उनको भनाई छ। जिल्लामा यस्तै अवस्था कायम रहे, भोली अर्को बहिनीले दाजु गुमाउने उनको भनाई थियो। उनले घटनामा संलग्न सबैलाई फाँसी दिन आग्रह गरेकी छिन्।