प्रचण्ड सचिवालयले जनार्दन शर्माबारे किन दिनुपर्‍यो प्रष्टीकरण

नेकपाभित्रको आन्तरिक विवाद तीव्र भएपछि त्यसको समाधान खोज्न दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्तामा सघाउन क्रियाशील नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ लाई विवादमा परेका छन्। 

प्रचण्डको निजी सचिवालयले बिहीबार विज्ञप्ति नै जारी गरी भनेको छ, ‘अहिलेको पार्टीभित्रको बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो। कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं।’ 

त्यो खारेज गरिएको ‘भ्रामक प्रचार’ के हो भन्नेबारे विज्ञप्तिमा उल्लेख छैन। यसबारे बिएल नेपाली सेवाले जिज्ञासा राख्दा प्रभाकरले भने, ‘त्यो सीएम प्रचण्डले प्रष्ट पार्न जारी गर्नुभएको विज्ञप्ति हो। उहाँलाई त्यसबारे प्रष्ट पार्न आवश्यक लागेर गर्नुभएको होला ?’

शर्मा पार्टी एकताका बेलादेखि अध्यक्षद्वयको साक्षी रहेका नेता हुन्। उनी अहिले पनि एकता जोगाउन अध्यक्षद्वयको बैठकमा सहयोगीका रुपमा क्रियाशील छन्। तर,उनी अहिले पनि ‘पार्टी एकताकै पक्षमा रहेको’ भनेर विज्ञप्ति निकाल्नुपर्ने के कारण पर्‍यो भन्ने बारे प्रभाकरले पनि बताएनन्।

तीन दिनअघि नेता शर्मा स्वयम्ले पनि ट्वीट गरेका थिए, ‘पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्वेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु। कुनै पद प्राप्तिको लोभबिना पार्टी आन्दोलनको रक्षा गर्न दृढता पूर्वक लागेको कुरा प्रष्ट पार्दछु।’

प्रचण्डको सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बिहीबार जारी गरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरको अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अहिलेको पार्टीभित्रको बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो।’ प्रचण्डको सचिवालयले यो पनि भनेको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन्। तिनै बहसका सम्बन्धमा मिडियामार्फत् नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ।’

साविक माओवादीबाट नेकपा स्थायी कमिटीका एक जना सदस्यले उक्त विज्ञप्ति र प्रभाकरबारेको भ्रमबारे व्याख्या गरे। ‘प्रभाकर प्रचण्ड निवास, खुमलटारमा आयोजित समूह र साविक माओवादीका नेताहरुको भेलामा जानु भएको थिएन’, ती नेताले प्रष्ट पारे, ‘गुटको बैठकमा नगएका कारण उहाँले प्रचण्डजीलाई छाडेको हो कि भन्ने आशंका पैदा भएको थियो। प्रचण्ड सचिवालयको विज्ञप्ति उहाँ प्रचण्ड समूहमै हुनुहुन्छ भनेर दिएको प्रष्टीकरण हो।’ 

‘प्रभाकर पार्टी एकताकै पक्षमा हुनुहुन्छ’ भन्दा उल्टो गलत अर्थ लागेको बताउँदै ती स्थायी कमिटी सदस्यले पनि उक्त विज्ञप्तिले कतै प्रभाकर पार्टी फुटाउन क्रियाशील रहेको भन्ने जस्तो अर्थ लाग्ने बताए। 

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले असार १८ गते सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय लगत्तै शितलनिवास गएर राष्ट्रपति विद्या भण्डारी भेटे फर्केपछि बालुवाटारमै स्थायी समिति सदस्यहरुलाई प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउने ब्रिफिङ गरेका थिए। 

स्थायी कमिटी सदस्यहरु घनश्याम भुसालको नेतृत्वमा सञ्चालित फुट्न नदिने अभियानका ११ सदस्यमध्ये शर्मा पनि एक हुन्। प्रचण्डसँग माओवादीभित्रको साविक मसाल समूहका नेताहरु, गृहमन्त्री रामबहादुर थापा र शर्मा समेत टाढिँदै गएको छ। पछिल्लो समय स्थायी कमिटीमा रहेका साविक एमाले नेताहरुले पनि प्रचण्डसँग दूरी बढाएपछि उनी रक्षात्मक अवस्थामा पुगेको अनुमान नेकपाभित्र विपक्षी खेमाको भनाइ छ।

प्रकाशित मिति: : 2020-07-24 13:51:00

प्रतिकृया दिनुहोस्