नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्।
यता टिस्टुङ सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नौबिसे खण्ड पुनःसञ्चालनमा आएको छ। गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो।
एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ।
बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौँं सवारी साधन यही सडक भएर सञ्चालन भइरहेका छन्।