एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुन पवित्रा कार्कीलाई हौसला दिन शुक्रबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेकी छन्।
बिहीबार साँझ एसिड प्रहार भएकाे घटनाबारे थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै पवित्रालाई भेट्न र हौसला दिन अस्पताल पुगेकी हुन्। उनी त्यहाँ पौने ९ बजे पुगेकी थिइन्।
बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका ४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे कार्कीमाथि एसिड प्रहार भएको थियो।
एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको छ।
हाल उनको शरीरमा एक प्रतिशत जलन भएको देखिएको छ। अस्पताल स्राेतका अनु्सार उनलाई गम्भीर जलन भने भएको छैन।
युवतीमाथि एसिड हान्ने दुई जनालाईमहानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोलीले राति ११ बजेभित्रै पक्राउ गरेको छ। उनीहरूले प्रहरीमा आफूहरूले अपराध गरेको स्वीकारेका छन्।
पक्राउ पर्नेहरुमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन्।
आलम काठमाडौंमा कपडाको झोला बनाउने कारखानाका मालिक हुन्। मुन्ना त्यही कारखानाका काम गर्ने कामदार। आलमको काठमाडौंमा घर परिवार नै छ। ४० वर्षीय उनी विवाहित पुरूष हुन्।
सिसी क्यामरा फुटेजलगायतका सूचनाको आधारमा उनीहरूलाई प्रहरीले राति नै डल्लु क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।
केटीले अर्को केटा मन पराएको रिसमा मोहम्मद आलामले आफ्नो कारखानमा कार्यरत मुन्ना मोहम्मदलाई शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गर्न लगाएका थिए।
एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।