प्रतिकूल मौसमका कारण विदेशबाट घर फर्किएकालाई सम्बन्धित पालिकामा पठाउन समस्या भएपछि उद्धार उडान केही समयका लागि स्थगित भएको छ।
बाढी र पहिरोको कारण बाटो अवरुद्ध हुँदा सम्बन्धित जिल्लामा पठाउन समस्या भएको र बाटोमा पनि जोखिम भएकाले केही समयका लागि उद्धार उडान स्थगित गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
लगातारको वर्षाका कारण सडकहरू अवरुद्ध हुनुका साथै विदेशबाट फर्किएकालाई सम्बन्धित जिल्ला र पालिकामा पुर्याउन समस्या भएपछि’ प्रतिकूल मौसमका बेलामा यहाँ झन जोखिम भएकाले केही समयका लागि स्थगित भएको लामिछानेले जानकारी दिए। मौसमको अवस्था गरेर फेरि उडानहरु हुने उनले बताए। मौसममा सुधार आउँदै गएमा र अवरुद्ध सडकहरू सञ्चालनमा आउन थालेपछि फेरि निर्णय गरेर उद्धार उडानहरु गर्ने उनले बताए।
हिजोअस्ति स्वदेश आएका केही बाटोमै अलपत्र परेका थिए भने केहीलाई बीच बाटोबाटै काठमाडौं फर्काइएको थियो । तर काठमाडौंमा पनि उनीहरुको व्यवस्थापन गर्न समस्या भएको र राख्ने ठाउँ नहुँदा थप समस्या उत्पन्न भएकोले उडान स्थगित गर्नु परेको सहसचिव लामिछानेले बताए।
यो अवस्थामा विशेष अनुमतिका आधारमा एक दुई उडान भए पनि नियमित भइरहेको उद्धार उडानको प्रक्रिया हुने छैनन् । केही दिनदेखि फेरि नियमित उद्धार उडान हुने र त्यो मौसममा नै भर पर्ने सहसचिव लामिछानेले बताए। आज खाडीका देशबाट केही नेपाली फर्किए पनि भोलिदेखि उद्धार उडान हुने छैनन्।