सर्पको डसाइबाट पुरुषको मृत्यु

महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले जानकारी दिए। 

अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारकै क्रममा मृत्यु भएको छिमेकी साहको भनाइ छ। 

कुटाकुट हुँदा सात घाइते 

सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन्। 

स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। 

 घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा  सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले बताए। हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सवारी दुर्घटनामा  ४६ जनाको मृत्यु

जिल्लामा सवारी दुर्घटनामा परी गत आवमा ४६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६/७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो।

विसं २०७६ साउन १ देखि असार ३१ गतेसम्म महोत्तरीमा कुल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

कार्यालयका अनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर सबैभन्दा बढी छन्।  त्यसपछि जीप, कार, टेम्पो, भ्यान, ट्रक, ट्रयाक्टर तथा सबैभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस रहेको छ। 

 दुर्घटनाका कारणमा राजमार्गमा तीव्रगति, चालकको लापर्बाही, छाडा चौपाया, जङ्गली जनावर, चालकद्वारा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकाइ, पैदलयात्रुले जथाभावी बाटो काट्नुलगायत रहेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ।
 

प्रकाशित मिति: : 2020-07-22 14:06:13

प्रतिकृया दिनुहोस्