पीडितका लागि सरकारले सबै प्रकारको व्यवस्था गर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका लागि प्रदेश सरकारले सबै प्रकारको व्यवस्था गर्ने बताएका छन् ।

प्रदेशसभामाको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले बाढीपहिरोका कारण घरबारविहीन भएका प्रदेशवासीलाई प्रदेश सरकारले घर बनाइदिने जानकारी दिए।

मुख्यमन्त्री पौडेलले सरकारले उद्धार र राहत वितरणको काम गरिरहेको र पहिलो चरणमा प्रदेशका केही स्थानीय तहहरुलाई रकम पठाइसकिएको उल्लेख गर्दै बाढीपहिरोबाट ज्यान गुमाउनेका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान र घाइतेहरुको निःशुल्क उपचार गरिने जानकारी दिए।

अत्यधिक वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोका घटनाहरु भइरहेको, बर्खायाम शुरु भएसँगै बाढीपहिराका कारण देशमा सयौँको ज्यान गइसकेको, पचासौँ जनाभन्दा बढी बेपत्ता भएको भन्दै उनले बाढीपहिरोका कारण वाग्मती प्रदेशमा समेत कयौँको मृत्यु हुनाका साथै थुप्रै व्यक्ति हराइरहेकाले प्रदेश सरकार पीडितहरुको उद्धार, राहत तथा बेपत्ताहरुको खोजीमा लागिरहेको बताए। रासस

प्रकाशित मिति: : 2020-07-21 22:49:39

प्रतिकृया दिनुहोस्