संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम सार्वजनिक गरेको छ।
बन्दुकधारी आक्रमणकारीको नाम रोय डेन होल्याण्डर रहेको एफबिआईले जनाएको छ। एफबिआईले बन्दुकधारीबारे थप जानकारी दिएको छैन।
स्थानीय समय अनुसार आइतबार बेलुका पाँच बजे फेडेक्स डेलिभरी म्यानको पोसाकमा रहेका होल्याण्डरले न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसको घरमा गाेली चलाएका थिए।
गाेली लागेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको मृत्यु भएकाे छ। यता एस्टेरका श्रीमान गम्भीर घाइते भएका छन्।
अमेरिकी सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गरी होल्याण्डरले आक्रमण गरेपछि आफैलाई गोली हानेको र मृत्यु भएको छ।
आक्रमणकारी भनिएका होल्याण्डको शव घटना भएको स्थानबाट २१० किलोमिटर पर न्यूयोर्कको सुलिभान काउन्टीमा फेला परेको हो।
आक्रमणकारी होल्याण्डरले आफूलाई ‘एन्टी–फेमिनिस्ट’ वकिलका रुपमा चिनाउने गरेको जनाइएको छ।
उनले युवतीहरुलाई रातको समयमा दिइएको छुटविरुद्ध नाइटक्लबमाथि, महिलालाई हिंसाबाट सुरक्षित गर्ने कानूनविरुद्ध संघीय सरकारमाथि तथा महिला सम्बन्धी अध्ययनको पाठ्यक्रमविरुद्ध एक विश्वविद्यालयमाथि मुद्दा दायर गरेका थिए।
उनले दायर गरेको एक मुद्दा सन् २०१५ मा न्यायाधीश एस्टेरको बेन्चमा थियो। त्यसबेला मेल–वन्ली मिलिटरी ड्राफ्टलाई चुनौती दिएका थिए।