नेपालको सीमा जोडिएको भारतको ठूलो राज्यहरू उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमणको संख्या बढ्दो छ। यी दुई प्रदेशमा ७९ हजारको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन्।
हुनत युपी र बिहार मात्र होइन, पुरै भारतमा लगातार तेस्रो दिन पनि कोरोना संक्रमणको संख्या ३५ हजार बढी फेला परेको छ। सोमबार २४ घण्टा भित्र ३५ हजार ७ सय १७ संक्रमित भेटिएका छन्। भारतमा आइतबार कीर्तिमानी ४० हजार २ सय ४३ संक्रमित भेटिएका थिए। शनिबार यो संख्या ३७ हजार ४ सय ७ थियो।
भारतको स्वास्थ्य विभागका अनुसार सोमबार २४ हजार ३ सय ३ संक्रमितले स्वास्थ्य लाभ पनि गरेका छन्। भारतमा हालसम्म ११ लाख ५३ हजार ८ सय २४ संक्रमित भेटिएका छन्। जसमा ७ लाख २४ हजार ७ सय २ जनाले स्वास्थ्य लाभ गरेको सरकारी तथ्यांकले बताएको छ। अहिलेसम्म २८ हजार ९९ जनाले ज्यान गुमाइसकेका छन् भने अझै ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
सोमबार ५ सय ९६ को निधन भएको थियो। महाराष्ट्रमा मात्र मर्नेको संख्या १२ हजार नाघेको छ।
नेपालसँग जोडिएको उत्तर प्रदेशमा ५० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। सोमबारको तथ्यांक अनुसार उत्तर प्रदेशमा ५१ हजार १ सय ६० जना संक्रमित पुगेका छन्। यहाँ पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ नयाँ संक्रमित भेटिएका छन्।
उत्तर प्रदेशमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राजधानी दिल्ली झैं होम आइसोलेसनलाई स्विकृति प्रदान गरिएको छ। अब संक्रमितले उत्तर प्रदेशमा घरमा बसेर उपचार गर्न सक्ने छन्। सोमबार मात्र यहाँ थप ४६ जनाको निधन भएको थियो। यस प्रदेशमा हालसम्म ११ सय ९२ जनाको निधन भइसकेको छ।
यस्तै, बिहारमा संक्रमितको संख्या २७ हजार ५ सय ४५ पुगेको छ। २४ घण्टामा संक्रमणको थप ९ सय ३८ घटना भेटिएका छन्। बिहारमा हालसम्म १ सय ९९ जनाको निधन भइसकेको छ।