देशभर झरी, सावधानी अपनाउन मौसमविद्को सुझाव

देशका अधिकांश स्थानमा लगातार वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु सक्रिय रहँदा देशभर रातिदेखि नै पानी परिरहेको छ। 

मनसूनी न्यून चापीय रेखा नेपालतिर सरेकाले पनि देशैभर बदली भएको मौसमविद्ले बताएका छन्। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ। केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​

अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ।

काठमाडाैं उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ। विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ। 

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-07-20 07:18:20

प्रतिकृया दिनुहोस्