न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँ-ठाउँमा वर्षा गराइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ।
आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ।
मुख्यगरी प्रदेश २, ५, गण्डकी, वाग्मतीका धेरै स्थानमा वर्षा भएको छ। रातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १ तथा प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार बिहानदेखि भने मनसुन थप सक्रिय भएर थप वर्षा गराउने छ। कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार सोमबार साँझ या मङ्गलबार न्यूनचापीय रेखाले नेपाल छुने भएकाले भारी वर्ष निम्त्याउने छ। यही साउन ८ गतेदेखि विस्तारै दक्षिण जाने जनाइएको छ। बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ।
प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषतभन्दा बढी अर्थात् २३० प्रतिशत पानी परिसकेको छ। प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ। मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले योपटक थोरै पानी पर्दा पनि जोखिम बढी देखिएकाे छ ।
यसबेला पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पु¥याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुनेछ। मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकैपटक बगेर पहिराको रुप पनि लिन सक्नेछ। त्यहाँबाट बगेको पानीले नदीनालाको सतह बढाउनेछ।