आसाममा बाढीका कारण ३३ मध्ये ३० जिल्ला जलमग्न, ९२ जनाको निधन (फोटो फिचर)

भारतको उत्तरपूर्वी प्रदेश आसाम पानीका कारण यस वर्ष पनि डुबेको छ। यहाँको ३३ मध्ये ३० जिल्ला जलमग्न भएका छन्। 

भारतको गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार २२ मेदेखि १५ जुलाईसम्म ४ हजार ७ सय ६६ गाउँ बाढीबाट पूर्ण रूपमा प्रभावित भएका छन्। 

मन्त्रालयले ४८ लाखको हाराहारीमा मानिसहरू प्रभावित भएको बताएको छ। जसमा १ लाख २८ हजार बढी स्थानीयहरू आफ्नो घर छोडेर अन्यत्र गएका छन्। ९२ जनाको निधन भइसकेको छ। 

आसाम हरेक वर्ष वर्षाका कारण प्रभावित बन्ने गरेको छ। आसामको ब्रम्हपूत्र नदीले ‘आसामको दुःख’ को उपमा नै पाएको छ। 

पुरानो तथ्यांकअनुसार पहिले ४–५ वर्षमा बाढीले उग्र रूप लिने आसाममा पछिल्लो केही वर्षयता देखि नियमित वर्षाका कारण ठूलो मात्रामा धनजनको विनाश भइरहेको छ। 

आसामको कूल क्षेत्रफल ७८ हजार ४ सय ३८ वर्ग किलोमिटर छ। जहाँ ५६ हजार १ सय ९४ वर्ग किलोमिटरको बस्ती ब्रम्हपूत्र नदीको मुहानमा बसेको छ। यस्तै, २२ हजार २ सय ४४ वर्ग किलोमिटरको बस्तीलाई बराक नदीले घेरेको छ। 

राष्ट्रिय बाढी आयोगको तथ्यांक अनुसार आसाममा कूल ३१ हजार ५ सय वर्ग किलोमिटरको ठाउँ बाढीबाट प्रभावित क्षेत्रभित्र पर्छ। आसाममा भएको भू–भागमध्ये ४० प्रतिशत बाढी प्रभावित क्षेत्र हो। समग्र भारतमा कूल १० दशमलव २ प्रतिशत ठाउँ मात्र बाढी प्रभावित क्षेत्रमा पर्छ। तर, यसमा आसाम एक्लैको ठूलो भूमिका छ। 

आसामको दुई प्रमुख नदी ब्रम्हपूत्र र बराक नदीमा ४८ वटा सहायक नदी मिसिएका छन्। त्यसैले बाढीको खतरा जहिले पनि रहन्छ। 

आसाम सरकारले बाढीबाट हरेक वर्ष राज्यलाई २ सय करोड रुपैयाँ नोक्सान हुने गरेको बताएको छ। यसमा सबैभन्दा बढी सन् २००४ मा ७ सय ७१ करोड रुपैयाँको क्षति भएको थियो।

प्रकाशित मिति: : 2020-07-19 09:41:44

प्रतिकृया दिनुहोस्