‘पठाओ’ का सह–संस्थापक फहिमको हत्या कर्जाका कारण

कर्जाका कारण ‘पठाओ’ का सह–संस्थापक फहिम सालेहको हत्या भएको प्रमाण अमेरिकी प्रहरी जुटाएको छ। 

गत मंगलबार फहिमको मृत शरीर उनको अपार्टमेन्टमा भेटिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा उनीसँग हजारौं डलर कर्जा लिएका उनकै अफिसमा कार्यरत टायरिस हास्पिलले हत्या गरेको प्रमाण जुटाएको हो। 

अमेरिकी मिडियाले पनि हास्पिलले आफ्नो संलग्नता स्विकार गरिसकेको बताएको छ। प्रहरीको रिपोर्ट अनुसार लिएको कर्जा फिर्ता गर्नु नपरोस् भन्ने उद्देश्यले उनको हत्या भएको हो।  

हास्पिलले २ वर्षअघि सालेहसँग कर्जा लिएको प्रहरीको रिपोर्टमा उल्लेख छ। ऋण लिएपछि उनी फहिमको नजिक बनेका थिए। फहिमले उनलाई आफ्नो नीजि सहायक पनि बनाएको प्रहरीले बताएको छ। हास्पिलले विभिन्न बहाना बनाउँदै फहिमसँग उधारो लिएका थिए। उधारो बढेपछि सालेहले पैसा फिर्ता माग्न थालेका थिए। 

फहिमसँग लिएको उधारो तिर्नु नपरोस् भन्ने उद्देश्यले मंगलबार दिउँसो हास्पिल आफ्नो मालिकको अपार्टमेन्टमा प्रवेश गरेको र एउटा रडले पहिले टाउकोमा हिर्काएको बताइएको छ। 

फहिमको निधनपछि उनको मृत शरीरलाई इलेक्ट्रीक आरीले टुक्राटुक्रा पारिएको थियो र यसलाई विभिन्न पोलिथिन ब्यागमा हालेर प्रमाण नस्ट गर्न खोजिएको थियो। 

तर, फहिमको बहिनी घटना भइरहेको बेला आफ्नो भाईलाई भेट्न अपार्टमेन्ट पुगेकी थिइन। अपार्टमेन्टको घण्टी बजेपछि हास्पिल पछाडिको ढोकाबाट भागेका थिए। हास्पिल भागेको सुरक्षाकर्मीले पनि देखेका थिए। तर, मास्कका कारण पहिचान हुन सकेन।  

फहिम नाइजेरियाको एक राइडिङ र डिलिभरी ऐप कम्पनीका सीईओ थिए। यस बाहेक उनले बंगलादेशमा ‘पठाओ’ नामबाट एउटा कम्पनी चलाउँथे। पछिल्लो समय ‘पठाओ’ नेपालमा पनि उत्तिकै लोकप्रिय भएको छ। 

फहिम अमेरिकामा सफल युवा व्यवसायीमा गनिन्थे। उनी दुई वर्षको भित्र धनि भएका थिए। जुन अपार्टमेन्टमा उनको हत्या भएको थियो, यसको मूल्य २२ लाख डलर पर्ने बताइएको छ। 

फहिमको परिवार बंगलादेशी भएपनि साउदी अरबमा बसोबास गर्थे। फहिमको जन्म पनि साउदीमा भएको थियो। फहिम सबैभन्दा पहिले न्युयोर्क पुगेका थिए। यसपछि उनले परिवारलाई बोलाएका थिए। 

ट्वीटरमा उनी आफ्नो स्टार्टअप गोकडासँग जोडिएका कुराहरू शेयर गर्थे। फहिमले सन् २०१८ मा नाइजेरियामा मोटर साइकल राइड शेयरिङ कम्पनी गोकडाको सुरुवात गरेका थिए। उनी वर्षभित्रै धनि भएको बताइन्छ।

प्रकाशित मिति: : 2020-07-18 13:49:07

प्रतिकृया दिनुहोस्