इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव भएको छ।
घरायसी झगडामा ५ हजार घुस माग्नेदेखि प्रहरी विरुद्ध बोल्दा कुटपिट गर्ने, मलामी गएर फर्किएकालाई सार्वजनिक स्थानमा कुटपिट गर्ने, घरमा बसेका विद्यार्थीलाई जवरजस्ती बाटोमा ल्याएर कुटपिट गरि उठबस गराउने लगायतका घटनामा विवादित बन्दै आएको इलाका प्रहरी कार्यालय पथरीमा पक्राउ परेको लोपोन्मुख सुन गोहोरो र टोके टोके कार्यालयबाट हराएको हो।
मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले मोटरसाइकल चोरी गरि बिक्रि गर्ने ४ जना र मोटरसाइकल ग्यारेजका सञ्चालक र कामदारलाई पक्राउ गरेको थियो। असार ३१ गते चोरी गरेको मोटरसाइकलसहित प्रक्राउ परेका उनीहरूको साथबाट प्रहरीले लोपोन्मुख प्रजातिका सुन गोहोरो र टोके टोके बरामद गरेको थियो।
प्रहरीले उनीहरूबाट बरामद सुन गोहोरो र टोकेटोके सव डिभिजन बन कार्यालय पथरीमा हालसम्म बुझाएको छैन। स्रोतका अनुसार उक्तलोपोन्मुख प्रजातिका वन्यजन्तु प्रहरी कार्यालयबाट गायब भएपछि चोरी शिकारी गरि सोको कारोवारमा संलग्न भएका आशंकामा पक्राउ परेका उनीहरूलाई मोटरसाइकल चोरीको आरोप मात्र लगाइएको छ।
मोटरसाइकल चोरी गरि नम्वर प्लेट परिर्वतन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी र विनोद जोगी, रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए।
हेमरम पथरी शनिश्चरे ९ पुलचोकमा मोटरसाइकल ग्यारेज सञ्चालक हुन् भने हस्ता सोही ग्यारेजमा कार्यरत मजदुर हुन्। विहिवार अन्य ४ जनालाई खतिवडाको घर पथरीशनिश्चरे ४ नयाँ सोमबारेवाट नियन्त्रणमा लिएको हो।
लोपोन्मुख बन्यजन्तु पक्राउ परेको विषयमा प्रहरी नायव उपरीक्षक गिरीले सानो एउटा प्राणी बरामद भए पनि प्रहरी कार्यालयबाटै फुत्किएको प्रतिक्रिया दिए।
यता सव डिभिजन बन कार्यालय पथरीका प्रमुख अलाउद्धिन अन्सारीले जुनसुकै वन्यजन्तु भए पनि बुझाउनु पर्ने नियम भएकाले प्रहरीले सो वन्यजन्तु वन कार्यालयमा बुझाउनपर्ने भए पनि अहिलेसम्म नबुझाएको बताए।
यसैबीच इलाका प्रहरी कार्यालय पथरीमा आफूहरूले बन्यजन्तुको विषयमा बुझ्दा कुनै पनि बन्यजन्तु बरामद नगरेको प्रहरी नायव उपरीक्षक गिरीले बताएको अलाउदिनले बताए।
तर यता स्थानयीले आफूहरूले लोपोन्मुख प्रजातीको वन्यजन्तु चोरीमा संलग्न गिरोहलाई बन्यजन्तुसहित प्रहरीमा बुझाएको बताए।
दमक बजारबाट हराएको मोटर साईकलको खोजी गर्दै जादा पथरीशनिश्चरे पुलचोकमा फेला परेको थियो। पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईको सहयोगमा चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।
वडाध्यक्ष राईका अनुसार उनले प्रहरीलाई लोपोन्मुख प्रजातीका सुन गोहोरो र टोके टोकेसहित अभियुक्तहरू बुझाएका थिए। राईले प्रमाणको लागि यसको भिडियोसमेत बनाएका थिए।
प्रहरीले कुनै जिवजन्तु पक्राउ नगरेको भने पनि वडाध्यक्षले प्रहरीलाई बुझाउदै गरेको भिडियो अहिले सार्वजनिक भएको छ।
प्रहरी नायव उपरीक्षक गिरीसँग भिडियो नै सार्वजनिक भएको छ नि भन्ने संवाददाताको प्रश्नमा उनले आफूहरूले उक्त बन्यजन्तु वनमा छोडेको जानकारी गराए।
प्रहरीले बिना मुचुल्का र बिना रोहवर करोडौं मूल्य पर्ने लोपोन्मुख जिवजन्तु छोड्नुले स्थानीयवासीले शंकाका दृष्टिले हेरेका छन्।