म्यान्मार सैन्य ‘जुन्ता’को हत्या–हिंसाविरुद्ध देशभित्र त आन्दोलनको ज्वारभाटा नै दन्किरहेको छ। अन्तर्राष्ट्रिय समुदायबाट पनि व्यापक आलोचना भइरहेको छ।
प्रजातान्त्रिक सरकार अपदस्थ गरी फेब्रुअरीमा सैन्य ‘कू’ गरेको ‘जुन्ता’ले दिनदिनै नागरिकहरूमाथि आतंक मच्चाइरहेको छ। तानाशाही सेनाविरूद्ध लाखौँ नागरिक प्रदर्शनमा उत्रिए पनि शान्तिको दृश्य नजिक देखिँदैन।
‘जुन्ता’ सरकारको अमानवीय कार्यप्रति प्रजातन्त्र समर्थकसहित सैनिक परिवारका सदस्यहरूले समेत असहमति व्यक्त गर्न थालेका छन्।
सत्ताको क्रूर दमनले म्यान्माली नागरिकहरू आक्रोशित छन्। अनेकौँ धम्कीका बावजुद ‘जुन्ता’विरूद्ध बोल्ने ‘सैन्य परिवार’का सदस्यहरूको संख्या बढिरहेको सैनिक स्रोतको दाबी छ।
प्रजातन्त्र समर्थक एक संस्थाको सामाजिक सञ्जालमा सैनिक पत्नीहरू भेला भएको तस्बिर सार्वजनिक गरिएको छ। सैन्य उच्च नेतृत्वको त्राशले ‘सैनिक–पत्नी’को पहिचान लुकाएर राखिएको छ।
‘मेरो पति तानाशाहको गुलाम बनेको देख्दा दुःख लागेको छ। हाम्रा छोराछोरीहरूले आफ्ना बुबाहरूलाई घृणा गरेको चाहँदैनन्। हामीहरू जाग्नैपर्छ। उठ्नुपर्छ।’ तस्बिरसहित यस्तै–यस्तै नाराहरू उल्लेख गरिएको छ।
म्यान्मारमा सैन्य परिवारका सदस्यहरूले ‘जुन्ता’विरूद्ध गरेको दुर्लभ विद्रोह हो। जसका सदस्यहरू गत फेब्रुअरी–१ को ‘कू’पछि प्रायः मौन छन्। जनसत्ता–कब्जा गर्ने सैन्य–जुन्ताले अझैसम्म राजनीतिक निकाससमेत दिनसकेको छैन। सेनाले शान्तिपूर्ण आन्दोलनमाथि हिंसात्मक दमन कायमै राखेको छ।
‘सैनिकहरू जुन्ता–शासनको आदेशमा नागरिकमाथि गोली बर्साइरहेका छन्। निर्दोष युवा–युवतीहरूको हत्या भइरहेको छ। हामीहरू यस्तो कार्यप्रति चिन्तित छौँ,’ नागरिक अवज्ञा आन्दोलनमा सामेल भएकी नाम नखुलाउने सर्तमा एक ‘सैनिक–पत्नी’ले भनिन्, ‘सैन्य नेताहरूको वर्तमान कार्यले जनता आक्रोशित छन्। उनीहरूले हाम्रो परिवारको जीवन कुनै पनि समयमा नष्ट गर्न सक्छन्।’
सैनिक सन्तानहरूले मानसिक यातना भोगिरहेका छन्। आफ्नो बुबालाई मानिसहरूले घृणा व्यक्त गरेको उनीहरू बताउँछन्। म्यान्मारका सिपाहीहरूले जनताको सुरक्षा गर्दैनन्। उनीहरू निर्दोष नागरिक मारिरहेका छन्। त्यसैले ‘जुन्ता–सत्ता’को झन्–झन् विरोध बढिरहेको छ।
प्रजातान्त्रि आन्दोलनलाई समर्थन गरेका सैनिक–परिवारलाई उच्च अधिकारीहरूले विभिन्न तरिकामार्फत धम्की दिइरहेका छन्। प्रायः ‘सैनिक–पत्नी’हरूले यो अवस्था सहनु नै पर्नेछ किनभने पतिहरू तत्कालै सैन्य सेवाबाट बाहिर निस्कन सक्दैनन्। उनीहरूले सैनिक नेताले जनताप्रति गरेको क्रूरताप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
म्यान्मार सेनाको कमाण्ड प्रणालीलाई अनुचित रूपमा हेरिन्छ। अमानवीय आदेश र आजकल सेनामा थप दमन देखिन्छ। सैनिक जवानहरूले ‘कू’ नरूचाए पनि विद्रोह गर्न सक्ने अवस्थामा भने छैनन्।
सेवा छाडेर नागरिक अवज्ञा आन्दोलनमा सामेल भएका पूर्वसैन्य–कप्तान न्यूँ थुटाले ८५ प्रतिशत सैनिकहरू ‘कू’को विपक्षमा रहेको विश्वास गर्छन्।
‘मेरो मतलब यो होइन कि सबैजना सेनाको विरुद्धमा छन्। सेनाभित्रका ८५ प्रतिशत कर्मचारी भने पक्कै छन्। तर उनीहरूमा जागिर छोड्ने हिम्मत छैन,’ उनले भने, ‘कसैलाई आफ्नो जीवन बर्बाद हुने डर छ। त्यसैले तिनीहरू तटस्थ रहन्छन्।’
सैनिक–परिवारका अनुसार बम विष्फोट र आक्रमणको परिणामस्वरूप बढ्दो मृत्युको संख्याले बर्मेली–जनतामा विद्रोहको भावना वृद्धि भएको छ।
सुरक्षाका कारणले नाम नखुलाउने सर्तमा एक सैनिक अधिकृतकी बहिनीले स्थानीय सञ्चार–माध्यमलाई भनिन्, ‘सेना देशको रक्षामा जुटेको छैन। यसले सत्ता जोगाउँनको लागि अनुचित कार्य गर्दैआएको छ। मानिसहरूले एकअर्कालाई मारिरहेका छन्। म्यान्मारका लगभग आधा सैनिकहरू जुन्ता प्रमुख जनरल मिन आङ हेलाइन्ङसँग दुःखी भएको उनको भनाइ छ।
कम्पाउण्डमा सँगै बस्ने सैनिक परिवार तथा आफन्तहरू पनि सेनाविरूद्धको आन्दोलनमा सामेल भैरहेका छन्। उनीहरूले कम्पाउन्डमा मासिक बैठक गर्छन्।
यता सैन्य ‘जुन्ता’ सरकारका प्रवक्ता जाव मिन टुनले सेनाभित्रको असन्तुष्टिको रिपोर्टलाई अस्वीकार गरेका छन्।