जबरजस्ती करणी गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन्।
आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै एक महिलाले उजुरी दिएपछि विराटनगर महानगरपालिका १२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठ पक्राउ परेका हुन्।
विराटनगर ३ मा काडमाडौं सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका श्रेष्ठले २०७६ फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा बलात्कार गरेको महिलाले जाहेरी दिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ।
घटनाको पाँच महिनापछि पनि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ।
उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ। नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको डीएसपी राईले बताए।