सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

बिएल संवाददाता

सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन्। 

राति १:३० बजे झरेको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा ७५ वर्षीय चुङ्बुटी शेर्पा, ४० वर्षीय श्रीमती सेमसाङ्ग शेर्पा, ३५ वर्षीय बहिनी साङ्बु शेर्पा र १५ र १४ वर्षीय दुई छोरीहरु याङ्जी र फिरिङ्वाङ्मु शेर्पा बेपत्ता भएका हुन्। 

गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाका अनुसार पहिरोमा नोर्साङ्ग शेर्पाको घर पनि पुरिएको छ। तर त्यो घरमा भने कोही पनि बस्दैनथे। यसैगरी पञ्चकन्या आधारभूत विद्यालयको भवनमा पनि आंशिक क्षति भएको उनले बताए।

गाउँपालिकाकी उपाध्यक्ष लामाले प्रहरीहरुलाई खबर गरेको र उनीहरु घटनास्थलमा जाँदै गरेको बताइन्। बेपत्ताको खोजीका लागि स्थानीय युवा खटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार अबिरल बर्षाले भोटेकोशीमा १.५मिलिमिटर नदिको सतह बढेको छ।  सोही कारण जोखिममा रहेका बस्तिहरुलाई सचेच रहन आग्रह गरिएको बताए।

‘बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेको छ। त्यसैले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ,’ उनले भने।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको थियो। बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ।

बाढीले क्षति पुर्याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन। बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको छ। 

खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ।

यता बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन। 

बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन।

प्रकाशित मिति: : 2020-07-16 07:45:07

प्रतिकृया दिनुहोस्