सुस्मिताकाे हत्यामा संलग्न चार जनालाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका ४ कर्रा सूर्यचोककी २६ वर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न चार जनालाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिएको छ। 

न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बुधबार सुस्मिताको हत्यामा संलग्न चार जना अभियुक्तलाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिएको हो। 

हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। 

हत्यामा संलग्न ससुरा प्रकाश थापा र नन्द सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। 

त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसीकुमारी थापालाई १२ वर्ष जेल सजायको माग गर्दै, अर्की नन्द दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो।  

सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो।

प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटना टुंगो लगाएको थियाे।

प्रकाशित मिति: : 2020-07-15 19:15:29

प्रतिकृया दिनुहोस्