न्युयोर्कको अपार्टमेन्टमा मृत फेला परे पठाओका सहसंस्थापक

पठाओका सहसंस्थापक फहिम सलेह  न्युयोर्कको अपार्टमेन्ट मृत फेला परेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हात, खुट्टा, टाउको काटिएको अवस्थामा मंगलबार उनको शव फेला परेको हो।

उनको मृत्यु कसरी भयो भन्ने बारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन।

३३ वर्षीय सलेह उक्त अपार्टमेन्टमा एक वर्षअघि सरेका थिए।

बंगलादेशी बुवाआमाका छोरा सलेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए। उनको परिवार पछि अमेरिका सरेको थियो।

अमेरिकामै कम्प्युटर इन्जिनियरिङ पढेका उनले विद्यार्थी हुँदै विभिन्न एपहरू बनाएका थिए।

सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए। पठाओ बंगलादेशमा निकै लोकप्रिय छ। सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ।

पछिल्लो समय सलेहले अफ्रिकी मुलुक नाइजेरियामा गोकाडो नामक अर्को राइड सेयरिङ कम्पनी खोलेका थिए। गोकाडोका उनी प्रमुख कार्यकारी अधिकृत थिए।

'हाम्रा सीइओ फहिम सलेहको अचानक र दु:खद निधनबारे जानकारी दिँदा हामी अत्यन्तै दु:खी छौं,'गोकाडोले बुधबार आफ्नो ट्वीटरमा लेखेको छ।  

प्रकाशित मिति: : 2020-07-15 18:56:55

प्रतिकृया दिनुहोस्