छोरीलाई बलात्कार गर्ने बुवा र आमालाई बलात्कार गर्ने छोरा पक्राउ

बैतडीमा एक जना व्यक्तिले आफ्नै छोरी र एक जना युवकले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ परेका छन्।

पञ्चेश्वर गाउँपालिका–४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ परेका हुन् ।

मंगलबार जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक–पटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए।

‘श्रीमतीको मृत्यु भइसकेपश्चात् छोरीलाई मादकपदार्थ सेवन गरी पटक–पटक जबर्जस्ती गर्ने गरेको रहेछ’–उनले भने–‘मंगलबार पनि जबर्जस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

आमालाई बलात्कार गरेको आरोपमा पक्राउ

बैतडीकै पुर्चौडी नगरपालिका–१० मा आफ्नै आमालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

६१ वर्षीया आमालाई जबर्जस्ती करणी गरेको आरोपमा उनका ३२ वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार घरमै जबर्जस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबर्जस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेलापरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताए।

आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-07-15 14:49:08

प्रतिकृया दिनुहोस्