देवघाटमा यो वर्ष बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ। देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो।     

समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए। “चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ”, पौडेलले भने, “सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो।” देवघाटमा करीब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ। यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ। “त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भने। 

साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो। यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी ग¥यो। देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे।

कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ। बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ। रासस  

प्रकाशित मिति: : 2020-07-15 11:50:16

प्रतिकृया दिनुहोस्