बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ ।
बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भने, ‘देशभरी गत २४ घण्टामा तीन हजार १६३ जना सङ्क्रमित बनेका र ३३ सङ्क्रमितको मृत्यु भएको छ ।’
विगत २४ घण्टाभित्र निको भई घर फर्किनेको सङ्ख्या चार हजार ९१० रहेको र अहिलेसम्म कूल सङ्क्रमितमध्ये एक लाख तीन हजार २२७ जना निको भई घर फर्किएका उनले बताए। यसरी हेर्दा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ५४.३१ प्रतिशत रहेको छ ।
उनले भने, ‘मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार ५७ रहेको छ भने मृत्यु सङ्ख्या दुई हजार ४२४ रहेको छ ।’
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीको मृत्युदर १।२८ प्रतिशत रहेको उनले बताए । बङ्गलादेशमा विगत २४ घण्टामा शङ्कास्पद १३ हजार ४५३ नमूना परीक्षण गरिएको थियो ।
अहिलेसम्मको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या जुलाई २ मा चार हजार १९ रहेको र सबैभन्दा बढी मृत्यु सङ्ख्या जुन ३० मा ६४ व्यक्ति रहेको सुल्तानाले पुष्टि गरे।