गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन्। घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हात परेको छ। उनी अहिले त्यही सारङ्गी रेट्छन् र धुन भर्छन्। लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति संरक्षण गर्ने उद्देश्यले सारङ्गी प्रदान गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए। दासा र समपोखरा गाउँमा पुख्र्यौली घर भएका अधिकांश गन्धर्व परिवार अहिले हटिया बजार बस्छन् ।
‘गन्धर्वको सारङ्गी संस्कृति नै हराउन लाग्यो, एकाध मात्रैले गाउने र बजाउने गर्नुहुन्छ’, वडाध्यक्ष भण्डारीले भने, “मौलिक परम्परा नहराओस्, नयाँ पुस्ताले पनि सिकोस् भन्ने हाम्रो उद्देश्य हो ।”
वडा नं ३ हटियामा ३५ घर गन्धर्व परिवार छन्। उनीहरु ज्याला मजदुरी गरेर खर्च धान्छन्। पुस्तैनी सारङ्गी वादन र गायन पेशा हराउने स्थितिमा पुगेको छ। दीपकले इच्छुकलाई सारङ्गी वादनको सीप सिकाउने बताए। घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वको विशेषता हो। अहिले पनि कतिपय गन्धर्व समुदायका कलाकारले सारङ्गी रेटेर जीवन चलाउँछन्। केही दिनअघि गन्धर्वलाई सारङ्गी दिएको वडाले आइतबार आमा समूहहरुलाई मादल र खैँजडी वितरण गर्यो।
वडाभित्रका १३ आमा समूहलाई वाद्यवादनका सामग्री प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताए। “मादल, खैँजडी र सारङ्गीमा मात्र ६४ हजार भन्दा बढी खर्च भएको छ’, वडाध्यक्ष भण्डारीले भने। गाउँठाउँमा भजन संस्कृतिको जगेर्ना गर्दै आएका आमा समूह वडाबाट लोकबाजा पाएपछि उत्साहित छन् । वडाले दुई नौमती बाजा समूहलाई पोशाकसमेत प्रदान गरिएको जनाएको छ । ती समूहलाई एक/एक दमाहा दिइएको छ। पुरानो पेशा, कला र संस्कृति उत्थानका लागि चालु आवमा वडाले तीन लाख बजेट छुट्टाएको थियो। सोहीमध्येबाट परम्परागत रुपमा आरान व्यवसाय चलाउँदै आएका १६ कालीगढलाई आरान सुधारका लागि उपकरण प्रदान गरिएको छ।
“वडामा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालयको काम अघि बढाइएको छ”, वडाध्यक्ष भण्डारीले भने, “ढिकी, जाँतो, ठेकाठेकी, मदानी, हलो, जुवा, सेखुजस्ता सामग्री सङ्कलन भइरहेको छ।” सामग्री सङ्कलनमा हालसम्म रु. ३० हजारबढी खर्च भइसकेको छ । वडाले यो वर्ष भौतिक पूर्वाधारसँगै सामाजिक विकास, कला, संस्कृति र पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । नगर गौरवको योजनामा परेको ऐतिहासक कोतघर जीर्णोद्वारको काम पनि तीव्र गतिमा भइरहेको वडाध्यक्ष भण्डारीले बताए।
गलकोट राज्यका पहिलो राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । उक्त योजनाका लागि चालु आवमा रु ५० लाख बजेट छुट्टाइएको थियो । कोतघरमा १६० किलो बराबरका दुई वटा खुकुरी प्रतिस्थापन गरिएको जनाइएको छ । कला, संस्कृति र सम्पदाको उत्थानमा पछिल्लो समय स्थानीय तहले अग्रसरता बढाएका छन् । ओझेलमा पारिएका क्षेत्रले प्राथमिकता पाएका छन् । रासस