भारतको महंगो मन्दिर पद्मनाथको भोग चलन पूर्व राजाले गर्न पाउने

केरलको प्रसिद्ध पद्मनाभस्वामी मन्दिरको भोग चलनको अधिकार त्यहाँको पूर्व शाही परिवारसँग कायम रहने फैसला सर्वोच्च अदालतले सुनाएको छ। 

केरलाको उच्च अदालतले ८ वर्षअघि गरेको फैसलालाई उल्ट्याउँदै सर्वोच्चले त्रावणकोरको पूर्व शाही परिवारलाई मन्दिर प्रशासन तथा सम्पत्तिको अधिकार दिएको हो। सर्वोच्चको निर्णयपछि शाही परिवारका सदस्यले भने, ‘सर्वोच्चको निर्णयले भगवान पद्मनाभसँग हाम्रो परिवारको सम्बन्ध कति महत्वपूर्ण छ भनेर उजागर भएको छ।’ 

करिब २ लाख करोड सम्पत्ति भएको यो मन्दिरको व्यवस्थापनको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आइरहेको थियो। सन् २०११ मा केरलको उच्च अदालतले राज्य सरकारलाई सम्पत्ति तथा व्यवस्थापनको जिम्मा दिने फैसला सुनाएको थियो। यस विरूद्ध शाही परिवारले सर्वोच्चको ढोका ढकढकाएको थियो। 

छैटौं सताब्दीमा त्रावणकोरका राजाले पद्नाभ मन्दिरको निर्माण गर्न लगाएका थिए। १७५० मा मार्तड वर्माले आफूलाई भगवानको दास भन्दै सबै सम्पत्ति मन्दिरलाई सुम्पिने घोषणा गरेका थिए। सन् १९४७ मा भारत स्वतन्त्र नहुँदा सम्म त्रावणकोरमा राजसंस्था कायम थियो।

प्रकाशित मिति: : 2020-07-13 17:16:52

प्रतिकृया दिनुहोस्