केरलाको ऐतिहासिक श्री पद्मनाभस्वामी मन्दिरको सम्पत्तिको भोग अधिकारको विषयमा परेको मुद्दाको फैसला आज हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश यूयू ललित र इन्दु मल्होत्राको इजलासले सोमबार भारतको सबैभन्दा महंगो मन्दिरको अधिकारको विषयमा फैसला गर्दैछन्।
यो मुद्दालाई भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दुहरूले निकै चाँसो दिएर हेरेका छन्। मन्दिरको व्यवस्थापन राज्य सरकारले गर्ने कि त्रावणकोरका पूर्व शाही परिवारले भन्ने विषयमा मुद्दा परेको थियो।
मन्दिरको सम्पत्तिमाथि पनि अदालतले निर्णय गर्नेछ। मन्दिरसँग हाल दुई लाख करोड रुपैयाँको सम्पत्ति छ।
अदालतले मन्दिर सार्वजनिक सम्पत्ति हो कि होइन भन्ने विषयमा पनि निर्णय गर्नेछ। तिरुपति तिरुमला, गुरुवयूर र सबरीमला मन्दिर जस्तै देवस्थानम बोर्ड स्थापना गर्ने विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ।
अदालतले त्रावणकोरका पूर्व शाही परिवारको मन्दिर माथिको हकअधिकारको विषयमा पनि निर्णय हुन सक्ने तथा मन्दिरको सातौ तल्ला खोल्ने विषयमा निर्णय बाहिर आउन सक्ने सम्भावना रहेको छ।
सर्वोच्च अदालतले मन्दिरको विषयमा निर्णय लिन ८ वर्षको समय ब्यतित गरिसकेको छ। सन् २०११ मा केरला उच्च अदालतले मन्दिरको सम्पूर्ण अधिकार राज्य सरकारको नियन्त्रणमा हुने बताएको थियो। यो फैसलाको विरूद्ध त्रावणकोरको पूर्व शाही परिवार सर्वोच्च अदालत पुगेका हुन्।
पद्भनाभ मन्दिरको निर्माण छैठौं सताब्दीमा त्रिवणकोरको राजाबाट भएको थियो। १७५० सालमा मार्तड वर्माले आफूलाई भगवानको सेवक घोषणा गर्दै आफ्नो सबै सम्पत्ति दान गरेका थिए। भारत स्वतन्त्र हुनुअघि सन् १९४७ सम्म त्रावणकोरका राजा केरलाको सत्तामा बिराजमान थिए।
२०१३ मा उत्राटम तिरुनाल मार्तण्ड वर्माको निधन भएपछि उनको परिवार र उनको नियन्त्रणमा रहेको प्राइभेट ट्रस्टले मन्दिरको सम्पूर्ण कामकाज गर्दै आइरहेको छ।