कनकाई नदीले खतराको लेवल पार गर्‍याे, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ। 

झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन सचेत गराएको हाे। 

विभागले आइतबार बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ।

विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ।

विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ। शनिबार राति साढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो।

इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साँढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी लेबल पार गरेको हुन्छ र त्यो खतरा नजिक हुन्छ।

खतराको तह पार गर्न ४.८ एमएम पार गर्नुपर्छ। अहिले करिब ३ बजे नदीले उक्त लेवल पार गरेको हो।

नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ।

प्रकाशित मिति: : 2020-07-12 07:53:00

प्रतिकृया दिनुहोस्