साँची कहाँ पुगे होलान्
अरूको समाचार लेख्ने मानिसहरू ?
तिनको आँखामा आगो थियो
आवाज दबिएकाहरूको आवाज बाकेर हिँड्थे तिनीहरू
अन्यायको पिलो र अत्याचारको खटिरालाई
तिनीहरू अक्षरको अश्त्रले चिरफार गर्थे
शोषणका काडाँलाई तिनीहरू
विवेकको बसिलाले खुर्कन्थे
अँध्यारो गोरेटोमा दियो बालेर हिँडिरहेको कुनै एक
निश्चिन्त बटुवाझैँ
तिनीहरू आफ्नै हृदयको सलेदो बालेर
खोजिरहेका थिए
अनुहार हराएका मानिसहरूको अनुहार
तिनीहरू थिए र त खरायोहरूलाई
सिँहहरूको डर थिएन
तिनीहरू थिए र त
परेबाहरूलाई बाजको डर थिएन
तर आज अखबारका पानाहरूबाट
समाचार लेख्नेहरूकै समाचार गायब छ
आज समाचार लेख्नेहरूकै घाटी थिचिँदै छ
तिनीहरूको सास थुनिँदै छ
तिनीहरूकै आवाजमा आगो झोसिँदै छ
तिनीहरूको पेटमा लात मारिँदै छ
तिनीहरूको पसिनाको जगमा उभिएका पर्खालहरू नै
आज तिनीहरूको मुटुमा घन बजारिरहेका छन्
तिनीहरूको कलमकै कारणले छातीमा तक्मा भिर्नेहरू
आज तिनीहरूकै छातिमा छिना चलाइरहेका छन्
देश जनता र समाजलाई परेका बेलामा
ज्यानको बाजी थापेर सङ्कट टार्न खोज्नेहरू
आज आफैँ सङ्कटको भूँमरीमा फसेका छन् ।
यो बाँच्ने र बचाउने बेलामा
आफू मात्र बाँच्न चाहने अघोरी चित्तहरूको भीडमा
म समाचार लेख्नेहरूको समाचार खोजिरहेको छु ।
आज मलाई सबैले देख्ने गरी
आकाशको छातीमा
टाँस्न मन लागेको छ समाचार लेख्नेहरूको समाचार
यो सुरुङ जस्तो सहरले तिनीहरूलाई निलिसक्यो या
कुनै अँध्यारो गल्लीको अन्धकार छिँडीमा बसेर
लेखिरहेका छन् तिनीहरू आफ्नै आँसुको गीत ?
साँची खै कहाँ पुगे होलान् ती
अरुको समाचार लेख्ने मानिसहरू ?
यसै गरी तिनीहरू एकाएक हराए भने
कसले लेखिदिने होला तिनीहरूको समाचार ??