भारतीय टेलिभिजन च्यानल जी न्युज टेलिभिजनका प्रधानसम्पादक सुधिर चौधरीले नेपालबारे गरिएको अपत्तिजनक ट्वीटबारे माफी मागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले नेपाल भारतको न्युज एङ्करहरुसँग नै डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए।
उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ। यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त। सेना त अघि त सर्नै परेन।’
चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि नेपालीहरू आहत भएको र भारतीयहरूले नै त्यो विचार ठीक नभएको सल्लाह आएपछि ट्वीट डिलिट गरेको बताएका छन्।
उनले लेखेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए। सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ। यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन। त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु।’
तर जी न्युजको बिहार–झारखण्ड संस्करणले नै प्रधानमन्त्री ओली र राजदूत यान्छीबारे अनर्गल प्रचार गरेको थियो। त्यसबारे प्रधानसम्पादक चौधरीले केही भनेका छैनन्।
यता उनले हिजो नै बोलेको कुरा युट्युवमा जस्ताको तस्तै छ। उनले भनेका छन्,‘ भारतबाट प्रसारित खवर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रो लागेन र उनले यही रिसले यो कदम उठाएका हुन्। नेपाल सरकारको आरोप छ भारत नेपालका प्रधानमन्त्री र नेपालबारे दुष्प्रचार गरिरहेका छन्। यसले नेपालको छवि बिगारेको छ।’
उनले अहिलेको युगमा मिडियामाथि प्रतिबन्ध लगाएर सञ्चारसम्बन्धि हकको हनन गर्न नहुने पनि बताएका छन्। ‘आजकाल नेपाल चीनले भनेअनरुप चलिरहेको छ, नेपालको सबै फैसला चीनले नै गरेको छ। चीन स्वतन्त्रता मान्दैन, उसले लाेकतन्त्र मान्दैन। यो आइडिया सबै चीनले नै दिएको होला।किनभने भारतले नेपालको पोल विश्वसामू खोल्दै छ,’ उनले भनेका छन्।
उनले नेपाल सरकारले भारतीय मिडियाको दवाव झेल्न नसकेको आरोप पनि लगाएका छन्।
‘यसमा नोक्सान नेपालकै हो। नेपाल पनि चीनको एउटा सानो राज्य जस्तै हुनेछ। हामीलाई गर्व छ नेपालले भारतीय मिडियाको समेत सामना गर्न सकेन,’उनले भनेका छन्।