नेपालको हवाई क्षेत्र सुधारमा एडीबीको करीब ६ अर्ब ऋण सहयोग

नेपालको उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले करीब ६ अर्ब रूपैयाँ ऋण दिएको छ।

एडीबीले नेपालको नागरिक उड्डयन क्षेत्रको नीतिगत सुधारका लागि दिएको उक्त ऋण सम्झौतामा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका तर्फबाट मुख्तर खामदखानोभले हस्ताक्षरण गरेका छन्।

एडीबीले पाँच अर्ब ९५ करोड रूपैयाँ ऋण नेपाललाई दिन लागेको हो। नेपाल सरकारले उक्त ऋण खर्च गरेर नेपालको नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तार र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

“एडिबीले दिएको बजेटरी सहयोगअन्तर्गतको ऋण हो। यो रकम उड्डयन क्षेत्रको नीतिगत सुधारमै खर्च हुने छ,” अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले भने।

सरकारले नेपाल हवाई उड्डयन प्राधिकरण र एयर सर्भिस प्राधिकरण गठन गर्ने तयारी गरेको छ। यसका लागि कानुनी व्यवस्था गर्नको लागि संसदमा विधेयक दर्ता गरेको छ।

प्रकाशित मिति: : 2020-07-09 13:52:00

प्रतिकृया दिनुहोस्