कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा अर्धनग्न अवस्थामा महिलालाई कुटपिट गर्ने ३ प्रहरीमाथि छानविन थालिएको छ।
गत १ जेठमा जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा ३ प्रहरीले कुटपिट गरेका थिए।
त्यसमा संलग्न दुई जनालाई जिल्लामा तानेको र एक हवल्दार दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत् भएको कारण उतै छानविन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए।
तर प्रहरीले घटना घटेको डेढ महिनापछि कारवाही सुरु गरेको हो। उक्त भिडियोमा आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको देखिन्छ।
नगर प्रमुख गोर्खबहादुर केसीका अनुसार इलाका प्रहरी कार्यालय, आठविसकोटमा महिला प्रहरी नै छैनन्।
उनले भने, ‘ आठविसकोटमा महिला प्रहरी छैनन्। नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ। यसक्रममा विवाद हुँदा हतहालाहाल भएकाे देखिन्छ। भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानूनअनुसार कारवाही हुन्छ।’
अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।