नेकपा स्थायी समिति बैठक आज बस्दै, त्यसअघि ओली–दाहालको छुट्टै वार्ता हुने

स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बुधबार) बस्दैछ। 

फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक आजसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका थिए। 

तर मंगलबार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा पनि कुनै ठोस सहमति भएन। भेटवार्तामा दुबै अध्यक्षबीच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भने भएकाे छ।

अध्यक्षद्धयबीच आज पनि स्थायी समिति बैठक अघि छलफल हुने बताइएको छ। यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै ३ घण्टा वार्ता भएको थियो।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आजकोे बैठकलगायतका विषयमा कुरा गरेका थिए।

दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउने मनाशयमा छन्।
 

प्रकाशित मिति: : 2020-07-08 08:47:59

प्रतिकृया दिनुहोस्