जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन्।
जनकपुरधाम उपमहानगरपालिका २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छाेरी बालिका कञ्चन पंजियारको बलात्कारपछि हत्या भएको खुलेको हाे।
प्रहरी अनुसन्धान कञ्चन गत बुधबार घरबाट भैंसी चराउन गएकी थिइन्। आँप बगैंचानजिकै भैंसी चराइरहेकी उनलाई आँप खान मन लाग्यो। आँप टिप्न उनी चौधरी र मिश्र इन्ड्रष्टिजमा गइन्। उनी रूख चढ्न सकिनन्।
चौधरी र मिश्र मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिन अघि काम गर्न आएका सिंहले कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाइ बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न गरेका हुन्।
हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाइ भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए।
‘कञ्चनको शवलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झाडीमा फालेको र ब्ल्याङ्केट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पुरेका रहेछन्,’ धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने।
उनका अनुसार सिंहले बलात्कारपछि कञ्चनको हत्या गरेको स्वीकारेका छन्।
सिंहले बलात्कार गरेको स्वीकारेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालय तथा संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट संयुक्त रूपमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।