छिमेकी देश भारत कोरोना संक्रमित मुलुकको शीर्ष तीन भित्र पुगेको छ।
कोरोना भाइरसका कारण खराब मुलुकहरुको सूचीमा चौथो स्थानमा रहेको भारतमा एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित थपिएपछि रसियालाई उछिनेको हो।
भारतमा आइतबार एकै दिन ४ सय २१ जनाको मृत्यु समेत भयो। गएको पाँच दिनमा २ हजार ३ सय भारतीयको कोरोनाका कारण मृत्यु भइसकेको छ।
भारतमा अहिलेसम्म ६ लाख ९७ हजार ८ सय ८७ संक्रमित भेटिएको आधिकारिक पुष्टि भइसकेको छ। भारतमा पछिल्लो ती दिनमा मात्रै ७० हजार ६६८ कोरोना संक्रमित थपिएका छन्।
रसियामा रहेका संक्रमितको संख्यालाई भारतले उछिनेको हो। भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र रहेका छन्।
आइतबार भारतमा २४ हजार ९ सय १२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो पाँच दिनमा मात्र भारतमा १ लाखभन्दा धेरै संक्रमित थपिए।
उत्तर प्रदेशमा एकै दिन ११ सय ५५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ एकै दिन थपिएका संक्रमितको यो सबैभन्दा ठूलो अंक हो।
यता महाराष्ट्रमा एकै दिन ७ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। बंगालमा पनि ८ सय ९५ नयाँ संक्रमित थपिएका छन्।
विश्वकै खराब मुलुकको पहिलो सूचीमा रहेको अमेरिकामा अहिले संक्रमितको संख्या २८ लाख ३९ हजार भन्दा माथि छ भने ब्राजिलमा १६ लाख पुग्नै लागेको छ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ। त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
यस्तै १ करोड १५ लाख ५५ हजार २८० जना संक्रमित भएका छन्। त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन्।
संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ। ६५ लाख ३१ हजारभन्दा बढी उपचारपछि निको भएका छन्।