प्रतिदिन २ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेको तथ्य बाहिर आएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ३ सय २६ संक्रमित भेटिएका छन्। यसमा सबैभन्दा धेरै संक्रमित अमेरिका क्षेत्रभित्र १ लाख २९ हजार भेटिएका छन्।
अमेरिकामा मात्र ५३ हजार २ सय १३ संक्रमित फेला परेका छन्। ब्राजिलमा ४८ हजार १ सय ५ र यसपछि दक्षिण एसियाली क्षेत्रमा तीब्र गतिमा संक्रमणको घटना बढिरहेको छ। यो क्षेत्रमा २७ हजार ९ सय ४७ संक्रमित फेला परेको र दैनिक ५ सय ३४ को निधन भएको बताइएको छ।
हालसम्म कोरोना भाइरसका १ करोड १३ लाख ७९ हजार ८३ संक्रमित फेला परेका छन्। यसमा ६४ लाख ३४ हजार १२ संक्रमित ठिक भएको र ५ लाख ३३ हजार ३ सय ८८ जनाको निधन भइसकेको बताइएको छ।
अमेरिका र ब्राजिलपछि संक्रमितको संख्या रुसको बढी छ। चौथो नम्बरमा भारत रहेको छ। पाँचौमा पेरु छ। अमेरिकामा करिब ३० लाखको हाराहारीमा संक्रमित पुगेका छन्। ब्राजिलमा १६ लाखको हाराहारीमा र रुसमा ६ लाख ७५ हजार पुगेको छ।
भारतमा पनि ६ लाख ७५ हजारको हाराहारीमै संक्रमित संख्या पुगेको छ। पेरुमा करिब तीन लाखको हाराहारीमा संक्रमितको संख्या पुगेको छ।
संक्रमितको संख्याको आधारमा मेक्सिको नवौ नम्बरमा भए पनि यहाँ मर्नेको संख्या ३० हजार नाघेको छ। मेक्सिकोमा २ लाख ५२ हजार संक्रमित पुगेका छन्।