कमीकमजोरी सच्याएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई उनी निकट मन्त्री तथा नेताहरुले कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन्।

पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री ओलीले बालुवाटारमा अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन्।

त्यस क्रममा ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले पार्टी बैठकमा आएका धारणालाई लिएर नआत्तिनसमेत भनेका छन्। 

नेता तथा मन्त्रीहरुले अध्यक्ष ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन्। 

यता स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा र्‍याखर्‍याख पारेका हुन्।

तर स्थायी समिति बैठकले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्ने कुनै प्रावधान छैन।

छलछलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र उद्योग मन्त्री लेखराज भट्ट सहभागी थिए।

त्यस्तै स्थायी समिति सदस्य सत्यनारायण मण्डल,रघुवीर महासेठ, छविलाल विश्वकर्मा पनि बैठकमा सहभागी थिए। तर अध्यक्ष ओलीले छलफलका लागि प्रचण्ड पक्षका मन्त्रीलाई बोलाएका थिएनन्। 
 

प्रकाशित मिति: : 2020-07-01 12:22:41

प्रतिकृया दिनुहोस्