गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ।  प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको हाे। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन्। कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन्।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन्। सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सहिद लखन गाउँपालिकाका ३० वर्षीय एक जना महिला छिन्। गोरखाकै बारपाक गाउँपालिका २६, ५१ वर्षका २ जना पुरुष छन्।

त्यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना छन्। स्याङ्जा वालिङ नगरपालिकाका ५० वर्षीया एकजना महिला र २७ वर्षीय पुरुष छन्।

स्याङ्जा पुतलीबजार नगरपालिका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। भीरकोट नगरपालिकाका २३ देखि २७ वर्ष उमेर समूहका ४ जनामा पुरुष र २४ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २९ वर्षीय एक महिला र सोही जिल्लाकै बडीगाड गाउँपालिकाका २३ र २६ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नवलपरासी, गोरखा र कास्कीका सबै संक्रमितलाई आइसोलेसनमा लगिसकिएको र बाँकी जिल्लाका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ। जसमध्ये २ जना संक्रमितको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ सय १५ छ। 

प्रकाशित मिति: : 2020-07-01 09:57:25

प्रतिकृया दिनुहोस्